डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबिच मतभेद छैन: उर्जामन्त्री खड्का

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका बिचमा मतभेद नभएको बताएका छन ।

आज (बुधबार) मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन ।

उनले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत् प्राधिकरणका बिचमा कुनै मतभेद नभएको बताएका हुन । मन्त्री खड्काले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरेका छन । उनले यस विषयमा मन्त्रालय र प्राधिकरणका बिचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको बताएका छन ।

उनले उद्योगीहरूले विद्युत् उपभोग गरेको कुराको प्रमाण जुटाउने कामपनि भइरहेको बताएका छन । मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्नेकुरा हास्यास्पद रहेको बताएका छन । उनले सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महसुस नगरेको पनि बताएका छन ।

उनले भने, ‘कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद हो । उहाँ (कुलमानलाई) सोध्नुभए पनि हुन्छ । उहाँले मैले यस्तो अनुभूति नै गरेको छैन भन्नुभएको छ । मैले पनि त्यो सोच बनाएको छैन । टिम मिलेको छ ।

सबैले उत्साहपूर्वक काम गरिरहनु भएको छ । हटाइरहनुपर्ने आवश्यकताको महसुस गरेको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us