एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेका थिए ।

उक्त आदेशपछि बुधवार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us