काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन सन्तोषजनक रहेको बताएका छन । आज बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुमा प्रधानमन्त्री ओलीले १०० दिनको मूल्यांकन सुनाएका हुन् ।
शेयर बजारमा आएको सुधारका साथै अरु सूचकलाई देखाएर उनले अर्थतन्त्र लयमा आउन थालेको समेत बताएका छन । बाढी पहिरो लगायतका जनसरोकारका सवालमा पनि सरकारले काम गरिरहेको ओलीले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन । सुशासनमा पनि केही काम भएको प्रधानमन्त्री ओलीले बताएको उनले जजानकारी दिएका छन ।
त्यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगीमा संलग्न जो कोहीमाथि पनि कारबाही हुन्छ ।’
बैठकमा गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन मात्र गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले पनि रविलाई पूर्वाग्रहका आधारमा पक्राउ गरेको भनेर गलत प्रचार गरिएको बताएका छन् ।
रास्वपाले भीड जम्मा गरेर छानबिन र न्याय निरुपण प्रक्रियालाई नै प्रभावित पार्न खोजेको उनको विश्लेषण छ । हिजो कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ गर्दा आफूहरुले विरोध नगरेको भन्दै यसबारे बोल्न सत्तारुढ दलहरुलाई आग्रह गरे ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिका विषयमा सत्तारुढ दलहरुको साझा धारणा बनाउनु पर्नेमा समेत जोड दिएका छन् । सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् ।
सुरुको १०० दिन सरकारका ‘हनिमुन पिरियड’ भएको भन्दै उनले विपक्षीहरुले विरोध गरेर अनावश्यक भ्रम सिर्जना गर्न खोजेको बताए । सत्ता गठबन्धनको बैठकमा सहभागी एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले १०० दिन सन्तोषजनक छ भन्नुभयो, कांग्रेस सभापतिले एकदम ठीक छ भनेर सही थप्नुभयो ।’
एमाले महासचिव शंकर पोखरेलका अनुसार प्रधानमन्त्री ओलीले आजै दिउँसो ३ बजे देशबासीलाई सम्बोधन गरेर सरकारको १०० दिनको कामबारे जानकारी दिने छन् ।