सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौँः महामन्त्री शर्मा

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १३:०६ मा प्रकाशित

 

काठमाण्डु, ७ कात्तिक– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न रास्वपा नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज (बुधबार) सामाजिक सञ्जाल एक्समार्फत रास्वपाले गरिरहेको सडक प्रदर्शनतर्फ लक्षित गर्दै उनले यस्तो आग्रह गरेका हुन । उनले उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ ।

अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जग हँसाई नगरौँ’ । दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता भएको उनले उल्लेख गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

तर रास्वपाका नेता तथा कार्यकर्ताले झुटो मुद्दामा सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै लगातार सडकमा विरोध गर्दै आएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us