सरकारले सकारात्मक काम गरेन: नारायणकाजी श्रेष्ठ

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको दाबी गरेका छन ।

आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन । उनले दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसकेका कारण सय दिन समीक्षा गर्न लायक नरहेको पनि बताएका छन ।

उनले भने, ‘दुई वटा पार्टी मिलेर निरंकुशतामा जाने संकेत सरकारले गइरहेको छ, अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ, ‘हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौँ ।

तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन ।’ बाढी पहिरो र डुबानमा परेकाहरुको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले काम गर्न नसकेको बताउँदै उनले भने, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’ उनले माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको पनि प्रस्ष्ट पारेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us