काठमाण्डु, ७ कात्तिक– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकारबाट भएका गलत काममा खबरदारी गर्न यही कात्तिक १० गते काठमाण्डुमा प्रदर्शन गर्न लागीएको बताएका छन ।
आज (बुधबार) बिहान पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफलमा उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन । उपाध्यक्ष सापकोटाले कातिक १० गते हुने प्रदर्शनका क्रममा सरकारले एक सय दिनमा गरेका गलत काम राम्रोसँग थाहा पाउने पनि बताएका छन
। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने नीति लिएको छ । यसैक्रममा माओवादी केन्द्रले कात्तिक १० गते काठमाण्डुमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
यसअघि माओवादीसहितका विपक्षी दलहरुले सुशासनमा सरकार कमजोर भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए । आजै अपराह्न विपक्षी दलहरुले राष्ट्रपतिको समेत ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
‘सरकार नाङ्गो रुपमा नै दलाल पुँजीपतीको पक्षमा खुल्मखुला लाग्यो,’ माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले भने, ‘विद्युत् प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका मीन बहादुर गुरुङसँग १० रोपनी जग्गा र भवनसम्म लिनेसम्म आउँदा सरकारको सुशासन छरपस्ट भएको छ ।’
गुरुङ भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्ति भएकाले उनबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको नेतृत्वको प्राथमिकता थाहा भएको उनले बताए ।