काठमाण्डु, ६ कात्तिक-एमालेले पार्टी केन्द्रीय भवन निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङसँग ११ रोपनी जग्गा दान लिने निर्णयको विरोधमा बोल्ने नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ ।
महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न भन्दै स्पष्टीकरण पत्र पठाएका हुन् ।
आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य जा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनासँग स्पस्टीकरण सोध्ने निर्णय गरेको थियो ।
विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारण सहित सात (७) दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।
एमाले विधानको धारा ८१ मा पार्टी निर्णय पालना नगर्ने नेताहरुलाई लिलम्बन गर्ने, जिम्मेवारीबाट हटाउने अथवा निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।
उनीहरु तीनै जनाले व्यवसायी गुरुङबाट जग्गा दान दिने निर्णयप्रति आपत्ति जनाएका थिए ।