काठमाण्डु ६ कात्तिक– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन ।
आज (मंगलबार) एकीकृत समाजवादीको मुख्यलय आलोक नगरमा बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता कार्यकतालाई यस्तो आग्रह गरेका हुन ।
अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन । ‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु ।
यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सो पार्टीको प्रचार विभागले भनेको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा. बेदुराम भुसाल, प्रमेश हमाल लगायत छन् । यसैगरी बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर र प्रदेश अध्यक्ष सरिता भुसाललगायत प्रदेश कमिटीका सदस्यहरू पनि सहभागी रहेका थिए ।