काठमाण्डुको गोकर्णेश्वरमा एक पुरुषको कुटपिटपछि हत्या

काठमाण्डु टुडे २०८१ असोज ३० गते १२:५१ मा प्रकाशित

काठमाण्डु, ३० असोज– काठमाण्डुमा एक पुरुषको कुटपिटपछि हत्या भएको छ । काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई रहेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।

मंगलबार अपराह्न ३: २० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिए ।

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए ।

अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । त्यसक्रममा जिल्ला प्रहरी परिसर, काठमाण्डु र प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us