काठमाण्डु, ३० असोज– कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालय बनाउन लिएको जग्गा फिर्ता गर्न माग गरेका छन् ।
व्यवसायी गुरूङले एमाले पार्टी कार्यालय बनाउने प्रयोजनका लागि कीर्तिपुर ढुंगेअड्डामा १० रोपनी १० अना जग्गा दान गरेका थिए । सोही जग्गामा ओली र गुरुङले गत २५ असोजमा पार्टी कार्यालय शिलान्यास गरेका थिए ।
कांग्रेसका सम्पर्क समितिहरूसँग बुधबार बानेश्वरमा भएको छलफलमा महरले एमालेले दानबाट लिएको जग्गा गुरुलाई नै फिर्ता दिनुपर्ने बताए ।
जनतामा व्याप्त निराशालाई आशामा परिणत गर्न वर्तमान सत्ता गठबन्धन बनेको भन्दै महरले प्रधानमन्त्रीले कसैबाट दान लिनु सुशासनको खिलाप हुने स्पष्ट गरे ।
व्यवसायी गुरूङविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी कार्यालय भवन बनाउन उनैबाट जग्गा दान लिनुले देशमा विधिको शासन छ कि छैन भन्ने प्रश्नसमेत उठेको उनको भनाइ थियो ।
‘एमाले र प्रधानमन्त्रीले जग्गा फिर्ताको घोषणा गरेर देशमा सुशासन छ सन्देश दिनुपर्छ,’ महरले भने ।