धवलागिरिमा ५ जना रसियन आरोहीको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २२ गते १८:११ मा प्रकाशित

काठमाण्डु, २२ असोज– धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर प्रप्त भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिएका छन ।

आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको निर्देशक गुरुङले जानकारी दिएका छन ।

उनले भने, ‘आफूहरु फर्कने निर्णयमा पुगेको जानकारी उनीहरुले आफ्ना साथीलाई आधार शिविरमा गराएका रहेछन् ।’ तर, रातको ११ बजेपछि उनीहरुसँगको सम्पर्क टुटेको थियो ।

सोमबार दिनभर गरिएको खोजी अभियानपछि मंगलबार बिहान मात्र उनीलाई प्राणविहिन अवस्थामा फेला पारिएको हो । उनीहरु रसियाका चर्चित र अनुभवी आरोही रहेको गुरुङले जानकारी दिएका छन ।

यस वर्ष कुल १४ जना आरोही धवलागिरी हिमाल आरोहणका लागि गएका थिए । त्यसमध्ये दुई समूहमा ७–७ जना आरोही आरोहणमा लागेका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनी परित्याग गरेको जानकारी विभागमा गराइएको थियो । बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किएका थिए ।

बाँकी ६ जना आरोहणमा जाँदै गर्दा थप एक जनाले बीच बाटोबाटै आरोहण परित्याग गरेर आधार शिविरमा फर्किएका थिए । आरोहणको अठोट बोकेर अघि बढेका आरोहीहरुको निधन भएको हो ।

प्रतिकुल मौसमका कारण उनीहरुलाई आधार शिविरमा झार्न नसकिएको विभागले जानकारी दिएको छ । आइएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रसियन आरोहीले अनुमति लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us