एमाले केन्द्रीय सदस्य शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर

काठमाण्डु टुडे २०८१ असोज २२ गते १७:२० मा प्रकाशित

काठमाण्डु, २२ असोज– नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई उच्च अदालत पाटनले बहुविवाहमा दोषी ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको हो ।

उनलाई उच्च अदालतले बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ । उच्चले जिल्ला अदालतको फैसला सदर गरेको हो ।

जिल्ला अदालत काठमाण्डुले २०७९ चैत २३ गते उनलाई दोषी ठहर गरेको थियो । पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले कुटपिट, अंशसहित बहुविवाहमा मुद्दा दायर गरेकी थिइन् ।

उनको निवेदनमा उच्चले सुरुमा सदर गर्ने फैसला सुनाएको हो । खरेलले शेर्पा पासाङसहित कान्छी श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाण्डुमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् ।

सो मुद्दामा जिल्ला अदालतले बहुविवाह भएको ठहर गरेको थियो । जिल्लाले पासाङ शेर्पा र करिश्मा खरेलसँग २०६१ असारमा र पुजासँग २०६३ मा विवाह गरेको ठहर गरेको थियो ।

जिल्ला अदालत काठमाण्डुले शेर्पाले पहिलो श्रीमतीसँग सम्बन्ध कायमै भएको अवस्थामा दोस्रो विवाद गरेको ठहर गर्दै एक वर्ष कैद पनि सुनाएको थियो । मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको ठहर जिल्लाले गरेको हो ।

उक्त ऐनमा यस्तो कसुर गर्नेलाई १ वर्ष कैद र रु। ५ हजार जरिवाना हुने उल्लेख छ । शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो ।

उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको छ । उनले आफूले श्रीमती भएको थाहा पाएर विवाह नगरेको बयान दिएपछि सफाइ दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us