सिंहदरबारलाई हर्क साम्पाङको पत्र– लौन सरकार खत्रा लाग्नुपर्‍यो

काठमाण्डु टुडे २०८१ असोज २२ गते ११:२६ मा प्रकाशित

 काठमाण्डु, २२ असोज– धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन ।

बोलीचालीकै भाषामा उनले पत्रमा लेखेदै भनेका छन, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो ।’

मेयर राईका अनुसार धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता रहेको छ । त्यसैले फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उनले पत्रमा उल्लेख गरेका छन ।

वर्षाको बेला त्यो फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ । सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गर्दछ । तार घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरु आएर भत्काइदिने गरेको गुनासो पनि उनको छ । यो विषयमा पत्र पठाएको पनि धेरै भइसकेको मेयर राईले पत्रमा उल्लेख गरेका छन् ।

अर्थ र वन मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा उनले फोहोर बिसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाउन सुरु गर्नुअघिको प्रक्रिया लामो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । उनले पत्रमा लेखेका छन, ‘अध्ययन गर्ने भन्छन् ।

कति लामो अध्ययन हो रु कति वर्षे कोर्ष हो ?’ मेयर राईले पत्रमा लेखेका छन्, ‘जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us