रोजगारी र सुशासनमा मिलेर काम गर्न दलहरूलाई राष्ट्रपतिको सुझाव

काठमाण्डु टुडे २०८१ असोज २१ गते १८:५९ मा प्रकाशित

काठमाण्डु, २१ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले शासन सत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन ।

आज सोमबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा उनले उक्त सुझाव दिएका हुन । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याहरूको समाधान खोज्न आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन ।

गाउँ गाउँमा आधारभूत सुविधाहरू पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको हुनाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनले आवश्यकता रहेको बताएको उनले जानकारी दिएका छन । राष्ट्रपति पौडेलले हालै आएको बाढी पहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्निर्माणका कामलाई तिव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले अहिलेको देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले दुइवटा ठुला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराएका थिए ।

महासभामा नेपालले समुद्र सतह उठेको देखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको पनि बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us