चितवन, २२ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा सोमबार दुई मोटरसाइकल र एउटा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
अरु पाँच जना घाइते छन् । तीव्र गतिमा रहेको ना४३प ६२४१ नम्बरको मोटरसाइकलले अनियिन्त्रत भई बागमती प्रदेश–०३–००३प८६६ नम्बरको स्कुटर र ग१२प७१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीका डिएसपी डिएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक स्याङ्जा आदिखोला गाउपालिका–३ का २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
पौडेले चलाएको स्कुटर पछाडि सवार स्याङ्जाकै फेदीखोला गाउपालिका–२ की १७ वर्षीया रश्मी शर्मा घाइते छिन् ।
ग१२प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही मोटरसाइकलमा सवार सर्लाहीकै सरोज तामाङ पनि घाइते छन् ।
उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकलका चालक रत्ननगर नगरपालिका–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडि बस्ने गैंडाकोट नगरपालिका–८ नवलराससीकी बिविका सापकोटाको सामान्य घाइते छन् ।