कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाएरै छाड्छौँ: नेता कोइराला

काठमाण्डु टुडे २०८१ असोज २१ गते १२:१० मा प्रकाशित

काठमाण्डु, २१ असोज– कांग्रेस नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन ।

आज सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित सङ्घका नेताहरूसँगको भेटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन ।

उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न नेता एवम् कार्यकर्ताहरूलाई आग्रह समेत गरेका छन । उनले भने, ‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो ।

त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दसैँ तिहारको रमाइलोमा मात्रै होइन जनताको सुख दुःखमा पनि पुग्नुस्, दसैँको शुभकामना ।’ कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५ औँ महाधिवेशन पर्खनुपर्ने बताएका छन ।

उनले भने, ‘१५ औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ । इमानदार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औँ महाधिवेशनपछि स्थापित गरिछाड्छौ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us