खाजामा कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

काठमाण्डु टुडे २०८१ असोज २१ गते १०:५५ मा प्रकाशित

काठमाण्डु, २१ असोज– बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरूलाई रहेको हुन्छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन समेत गर्ने गरेको छ ।

उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफैँ ठगिन पुगेको छ । प्रशासनले शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारीलगायत ४० जनाको सहभागि रहेका थिए । सहभागीलाई खाजाका लागि पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी भोजनालयमा माग गरिएको थियो ।

तर माग गरिएको भन्दा निकै कम परिमाण र खाद्य पदार्थ आपूर्ति गरेर ठगी गरेपछि प्रशासनले सो सेवा भोजनालयलाई रु दुई लाख जरिवाना तिराएको छ । भोजनालयले मागबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसुर गरेको पाइएकाले कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिएका छन ।

सो दफामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, कुनै वस्तुको कृत्रिम अभाव सृजना गर्नेलगायत कार्य गरेकामा रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना लाग्ने उल्लेख छ ।

उनले भने, ‘तोकिएको परिमाणभन्दा कम परिमाणमा खाजा ल्यानुभयो । तोकिएका परिकारभन्दा निकै कम परिकार थिए, मूल्य तोकिएकै थियो । त्यसैले तत्कालै कारबाही गरेका हौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us