काठमाण्डू, २० असोज- अदालतको अवहेलना मुद्दामा दोषी ठहर भई जेल चलान भएका सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् ।
सर्वोच्च अदातलमा क्षमायाचना गरेपछि उनीहरूलाई तोकिएको तीन महिनाको कैद घटाएर सात दिनमा मुक्त गरिएको हो । केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालले अदालतको फैसला बमोजिम दुवै जना सात दिन कैद बसेर आइतबार माफी मागेपछि कैदमुक्त भएको जानकारी दिए ।
‘सिधा कुरा’ डटकममा ‘डार्क फाइल’ नामक फेक अडियो प्रसारण/प्रकाशन गरेकामा अदालतको अवहेलना मुद्दामा कँडेल र ढुंगाना तथा फेक अडियो सामग्री तयार पार्ने राजकुमार तिमिल्सिनालाई गत साता सर्वोच्चले कैद सजायको फैसला गरेको थियो ।
सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन/प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई ३/३ महिना कैद सजाय सुनाएको थियो ।
सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसलामा उल्लेख थियो।
लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख थियो ।
अदालतको त्यही फैसलालाई टेकेर कँडेल र ढुंगाना फैसला भएकै दिन केन्द्रीय कारागार चलान भएका थिए ।