काठमाण्डु, २० असोज– कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडा चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय भुवन भट्ट रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार राति सुडा चोकस्थित बाढीले भत्काएको कल्भर्टमा अनियन्त्रित भएर स्कुटी खसेको हो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय खेमराज भट्टले चलाएको सु.प्र. ०१००८ प ४०७७ नम्बरको स्कुटर भत्किएको कल्भर्टमा खसेको थियो। घाइते भुवनलाई उपचारका लागि महाकाली अस्पताल पुर्याउँदा राति साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिएका छन ।
स्कुटर चालक खेमराज घाइते छन्। उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालकले मापसे गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ट गत असार तेस्रो साता आएको बाढीले भत्किएको थियो। त्यहाँ कल्भर्ट अझै बनेको छैन। नजिकै डाइभर्ट गरेर सवारी साधन आवागमन गर्ने गरिएको छ।