लायन्स क्लबद्वारा काठमाण्डु र नुवाकोटका पहिरो प्रभावितलाई खाद्यान्न वितरण

काठमाण्डु टुडे २०८१ असोज २० गते १३:०४ मा प्रकाशित

काठमाण्डु, २० असोज–  काठमाण्डु , लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालले नुवाकोटको शिवपुरी गाउँपालिका र काठमाण्डुको तार्केश्वर नगरपालिकाका पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ ।

गत सता आएको अविरल वर्षाको कारण नुवाकोटको शिवपुरी गाउँपालिका– ५ का १६१ परिवार र काठमाण्डु तारकेश्वर नगरपालिकाको विभिन्न क्षेत्रमा भएको क्षतिको कारण विस्थापित भएका ३८ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

पहिरो पिडित प्रत्येक परिवारलाई एक बोरा चामल, नुन, तेल, चिउरा, मसला लगायतका सामाग्रीहरु वितरण गरिएको लायन्स फुडबैक चिफ जनार्दन फुयालले जानकारी दिए । मानवीय सेवाभावले लायन्स क्लबको अन्तर्राष्ट्रिय इमेर्जेन्सी फण्डबाट प्राप्त सहयोग लिएर यस क्षेत्रमा आएको उनले जानकारी दिए ।

पछिल्लो समय लगातारको वर्षाले भएको क्षतिबाट उत्पन्न परिस्थितिमा पीडित बनेका परिवारको पीडालाई न्यूनीकरण गर्ने उदेश्यले खाद्यान्न सहयोग लिएर यस क्षेत्रमा आएको लायन्स क्लब इन्टरनेशनलका डिस्ट्रिक्ट कोर्डिनेटर अनुज कुमार श्रेष्ठले जानकारी दिएका छन । मानवीयता, पहिलो प्राथमिकता भन्ने अवधारणा अनुसार मानवीय सेवामा लायन्स क्लब सकृयतापूर्वक लागिरहेको छ। बाढी पहिरो, आगलागी, भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट उत्पन असहज अवस्थामा अग्रपंक्तिमा रहेर लायन्स क्लबले उद्धार कार्यमा गर्दै आइरहेको उनले जानकारी दिए ।

खाद्यान्न वितरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर विनोद ढुङ्गाना, प्रथम भाईस गभर्नर पार्वती खरेल पाण्डे, दोश्रो भाइस गभर्नर सूर्य केसी लगायतको लायन लिडरहरुको उपस्थिति रहेको थियो । लायन्स क्लबका अनुसार लायन्स क्लब अन्तराष्ट्रियको एलसिआईएफ इमेर्जेन्सी फण्डबाट प्राप्त ग्रान्टमा लायन्स फुडबैकको समेत सहभागीतामा खाद्यान्न वितरण गरिएको उनले जानकारी दिएका छन ।

नुवाकोट शिवपुरी–५ को कार्यालय परिसरमा वडा अध्यक्ष रेशम बहादुर मोक्तानको रोहबरमा र काठमाण्डु तार्केश्वर नगरपालिकाको कार्यालय भवनको प्राङ्गणमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको रोहबरमा उपस्थित प्रभावितहरुको परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us