काठमाण्डु, २० असोज– सदस्यता विवादका कारण पटकपटक स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन अब भने हुने भएको छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा शनिबार राति अबेर सकिएको महासंघका जिल्ला शाखा र प्रदेश अध्यक्षहरुको भेलाले आगामी २८ मंसिरमा निर्वाचन गर्ने निधो गरेको छ ।
महासंघ केन्द्रले विवाद समाधान गरी निर्वाचनको वातावरण बनाउन असफल भएपछि जिल्ला र प्रदेश अध्यक्षहरुको भेला बोलाएको हो ।
भेलामा सहभागी पूर्वअध्यक्ष सुरेश आचार्य र मेहन्द्र विष्टसहित महासंघ पदाधिकारीले गरेको माइन्युट अस्वीकार गर्दै जिल्ला र प्रदेश अध्यक्षहरुले आफैं माइन्युट लेखेका थिए । उनीहरुले तयार पारेको माइन्युटमा सामान्य भाषा मिलाएर पूर्वअध्यक्ष र पदाधिकारीले हस्ताक्षर गरेका छन् ।
भेलामा सहभागी लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले माइन्युट आफूहरुले नै लेखेको बताए । उनका अनुसार महासंघका जिल्ला शाखाले प्रदेश हुँदै पठाएका सदस्य नै आधिकारिक हुने गरी विवादमा समाधान भएको छ ।
यस्तै सदस्यता विवाद रहेका मधेसका ५ जिल्ला, लुम्बिनीको बागलुङ र बाँके तथा कर्णालीको कालिकोटमा केन्द्र, प्रदेश र जिल्लाको समन्वयमा सदस्यता विवाद सुल्झाउने पनि निर्णयमा उल्लेख छ । उनका अनुसार अब जिल्लाहरुले पठाएका करिब ९ हजार १ सय सदस्य मतदानमा सहभागी हुनेछन् ।
पूर्वअध्यक्ष र पदाधिकारीहरुले फेरि पनि विवाद समाधानको म्याण्डेट पार्टी सम्वद्ध पत्रकार संगठन काँग्रेसको प्रेस युनियन, एमालेको प्रेस चौतरी र माओवादी केन्द्रको प्रेस सेन्टरलाई नै दिने तयारी तयारी गरेका थिए ।
तर, जिल्ला र प्रदेश अध्यक्षहरुले त्यसमा आपत्ति जनाए । महासंघले आन्तरिक निर्णय गर्नुपर्नेमा पार्टीका पत्रकार सम्मेलनलाई विवादमा हात हाल्न दिएका कारण समस्या जटिल बनेको भन्दै फेरि उनीहरुलाई नै जिम्मेवारी दिने कुरा स्वीकार नसकिने जिल्ला र प्रदेश अध्यक्षहरुको भनाइ थियो ।
‘जिल्ला र प्रदेशले पठाएका नाममा जब कैंची चलाउन थालियो समस्याको बिजारोपण नै त्यहींबाट भएको हो’, गिरीले भने, ‘सबैले त्यो स्वीकार गरेपछि विवाद करिब समाधान भएको छ । सम्भवतः अब महासंघले निकास पाउने छ ।’
भेलामा भुगोल र गैरभूगोल गरी ५८ शाखा अध्यक्ष र १० मध्ये ८ प्रदेशका अध्यक्ष सहभागी थिए । भेलामा उपस्थित हुन नसक्नेलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो ।
सदस्यता विवादका कारण लामो समयसम्म महासंघले महाधिवेशन गर्न सकेको छैन । महासंघले गत २६ जेठ, २२ असार र ५ असोजमा गरी तीनपटकसम्म तोकेको निर्वाचन हुन सकेन ।
निर्वाचन गराउन असफल भएको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष विपुल पोखरले र कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।
विष्टले राजीनामा दिनुअघि महासंघ छाडेको घोषणा गरिसकेकी उपाध्यक्ष बाला अधिकारीलाई कार्यबाहक तोकेका थिए । १४औं महाधिवेशनमा प्रतिनिधि रहेकी उनी १३औं र १४औं महाविधेशनको बीचमा महासमिति सदस्य थिइन् ।
सक्रिय राजनीतिमा लागेकी अधिकारीलाई कार्यबाहकको जिम्मेवारी दिएकामा पनि जिल्ला र प्रदेश अध्यक्षले आपत्ति जनाएका थिए । अधिकारीले आफूले रहरले नभई महासंघलाई निकास दिन जिम्मेवारी लिएको प्रष्टीकरण दिइन् ।