आज दसैंको चौथो दिन, कुष्माण्डादेवीको पूजाआराधना गरिंदै

काठमाण्डु टुडे २०८१ असोज २० गते ६:४१ मा प्रकाशित

काठमाण्डू, २० असोज- दसैंको चौथो दिन आज नवदुर्गाका नौरूपमध्ये कुष्माण्डा देवीको पूजाआराधना गरेर मनाइँदै छ ।

दियो, कलश र गणेशको पूजा गरी ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविदहरु  बताउँछन् ।

यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जल सेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी यस दिन पनि दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ ।

सृष्टिको क्रममा ब्रह्म या अण्डलाई उत्पन्न गरेकाले उनको नाम कुष्माण्डा रहन गएको हो बताइन्छ ।

त्रिनेत्रयुक्त, मस्तकमा अर्धचन्द्र, आठ हात भएकी र भुजाहरूमा नाना प्रकारका आभूषण धारण गरेकी स्वरूपको शास्त्रमा वर्णन गरिएको छ। साथै बाघमा सवार उनका भुजाहरूमा चक्र, गदा, कलश, जपमाला, कमण्डलु, धनुषबाण तथा कमल पुष्प रहेको मानिन्छ ।

देवी भागवतअनुसार ब्रह्माण्डको उत्पत्तिपूर्व, जतिबेला सृष्टिकै अस्तित्व थिएन, त्यसबेला देवी कुष्माण्डाले आफ्नो हास्यबाट ब्रह्माण्ड उत्पन्न गरेकी हुनाले उनलाई साक्षात् आदिशक्ति मानिन्छ ।

माता कुष्माण्डाको पूजापाठ गर्नाले रोग, शोक नष्ट भई आयु, यश र बल वृद्धि हुने जनविश्वास छ । माता कुष्माण्डालाई विशेषगरी सेता फलफूल र कपडा चढाइन्छ ।

कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ। यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क (मह र दही) चढाउने चलन छ ।

यस दिन विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us