
काठमाण्डू, १९ असोज-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवनमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
साहरा सहकारी पीडितका नाममा शनिबार चितवनमा आयोजित लामिछाने सहभागी कार्यक्रममा प्रदर्शन गरिएको थियो ।
ब्यानरसहित नाराबाजी गरेर कार्यक्रम स्थल आउने क्रममा उनीहरुलाई प्रहरीले नारायणगढको लायन्स चोकमा बल प्रयोग गरी तितरवितर पारेको थियो ।
त्यसको बाबजुद कार्यक्रमस्थल पुगेका सहकारी पीडितलाई कार्यक्रमस्थल बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापनपत्र बुझाउन खोज्दा रास्वपा कार्यकर्ताले ढुङ्गा र पानीका बोतल प्रहार गरेको आरोप लगाए ।
सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँबारे आफूहरुले लामिछानेलाई जानकारी गराउन खोज्दा नदिइएको दवाडीले बताए ।
यसअघि शुक्रबार लामिछानेविरुद्ध एक समूहले मुग्लिनमा कालोझण्डा देखाएको थियो ।
रास्वपाले सहकारी पीडितको आवरणमा सत्तारूढ कांग्रेस-एमालेले आफ्ना सभापति लामिछाने सहभागी कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएको छ ।