बाढीले बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

काठमाण्डु टुडे २०८१ असोज १९ गते १८:०८ मा प्रकाशित

काठमाण्डु, १९ असोज– गएको ११ र १२ असोजमा आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति भएको छ ।

लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति भएको हो । सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले जानकारी दिएका छन ।

बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूलनहर तथा सर्लाहीतर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवर्क्स तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिएका छन ।

रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा, भोलहिया शाखाअन्तर्गतको लौकहा प्रशाखा, जिगङरिया शाखाको नहर तथा बाँध रहेको क्षेत्र बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिएका छन ।

यस्तै सर्लाहीतर्फको पूर्वी मूल नहरको लक्ष्मीपुर शाखा, पूर्वी मूलनहरको गडैया शाखाको आरफोर सेक्सन तथा सडकमा क्षति पुर्‍याएको प्रमुख चौधरीले जानकारी दिए । वि.संः २०३५ मा निमार्ण सुरु भएको उक्त आयोजना २०५० साल बाट सञ्चालनमा आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us