काठमाण्डु, १९ असोज– विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवलदार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवलदार राम बहादुर कुवरलाई नं– ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारबाही अगाडि बढाएको सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता कुमार न्यौपानेले जानकारी दिएका छन ।
त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरूलाई नं–३४ गण कैलालीले नियन्त्रणमा लिएको उनले जानकारी दिएका छन ।
यसैबिच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनावश्यक दुःख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं– ३४ गण कैलालीले सूक्ष्म निगरानी गरेको उनले जानकारी दिएका छन ।