काठमाण्डु, १९ असोज– गएको १८ भदौ सम्म प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीका फेसबुक फलोअर्स ६ लाख ६६ हजार थिए भने पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ५ लाख ७८ हजार मात्रै रहेका थिए । अर्थात् फेसबुकमा प्रचण्डलाई भन्दा ओलीलाई पछ्याउने (फलो गर्ने) मानिस बढी धेरै रहेका थिए ।
तर अहिले ठीक उल्टो स्थिति भएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सामाजिक सञ्जाल फेसबुकमा नाम ‘कमरेड प्रचण्ड’ रहेको छ ।
आजको मिती (१९ असोज) मा उक्त ‘कमरेड प्रचण्ड’फेसबुक पेजमा फलोअर्सको संख्या ६ लाख २९ हजार छ भने ‘केपी शर्मा ओली’ फेसबुक पेजको फलोअर्स संख्या ६ लाख १० हजार छ । फेसबुकमा ओलीको फलोअर्स घट्नुको प्रमुख कारण काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का समर्थकले चलाएको ‘अनफलो’ अभियान हो।
मेयर शाहले गत भदौ १६ गते एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध लेखेको स्टाटस भदौ १८ गते फेसबुकले हटाइदिएपछि बालेन समर्थकले त्यही साँझदेखि फेसबुकमा ओलीविरुद्ध अनफलो अभियान चलाएका थिए ।
जसका कारण केपी शर्मा ओली फेसबुक पेजको फलोअर्स ६ लाख ६६ हजारबाट एकदिनमै ७७ हजार घटेर भदौ १९ गते ५ लाख ८९ हजारमा झरेको थियो। पछि केही ‘रिकभर’ भए पनि ओलीको फेसबुक फलोअर्स पहिलेकै अवस्थामा फर्कन सकेको छैन । यहीबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फेसबुक फलोअर्स बढेको हो।