मेक्सीको सेनाले गोली चलाएको गाडीमा थिए ११ नेपाली

काठमाण्डु टुडे २०८१ असोज १९ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, १९ असोज– तल्लोबाटो भएर अमेरिका छिर्न खोज्ने आप्रवासीहरु भाग्न खोजेको भन्दै मेक्सीको सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको खुलेको छ ।

अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै मंगलबार भएको उक्त घटनामा कोही पनि नेपाली नमारिएको तर ३ जना घाइते भएको जानकारी दिएको छ ।

ग्वाटेमाला–मेक्सिको सीमा क्षेत्रबाट आप्रवासीहरुलाई लिएर अमेरिका जान हिँडेको गाडीलाई मेक्सीको सेनाले आफ्नो सुरक्षा पोष्ट भएको क्षेत्रमा रोक्न खोज्दा उक्त गाडी नरोकी भागेपछि मेक्सीको सेनाले गोली चलाएको थियो। सेनाको गोली प्रहारबाट ६ जनाको मृत्यु भएको, १० घाइते भएको र मृत्यु हुनेमा नेपाली नागरिक पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन ।

दूतावासले घाइते ३ जना नेपालीको उपचार भइरहेको र त्यहाँ पक्राउ परेका सबै नेपाली मेक्सीको अध्यागमनको हिरासतमा रहेको जानकारी दिएको छ । दूतावास मेक्सीकोका सरकारी अधिकारीहरुसँग सम्पर्कमा रहेको समेत बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us