चितवन, १८ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
चितवनको इच्छाकामनामा शुक्रबार आयोजित सार्वनजिक सुनुवाइमा बोल्दै उनले राजनीतिमा आएदेखि नै आफूलाई फसाउने षड्यन्त्र भइरहेको बताए ।
सहकारी समस्या समाधान गर्न भन्दा आफूलाई फसाउन राज्यका सबै संरचनाको प्रयोग गरिएको उनको भनाइ थियो । सहकारी समस्या समाधान गर्न आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको लामिछानेले बताए ।
‘छानबिन समितिमा कसैको ध्यान रवि लामिछानेमा मात्रै थियो । तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा मेरो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ’, लामिछानेले भने, त्यसको व्याख्या अपव्याख्या जे गरे पनि । त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन । तर त्यसरी आएको पैसाको सेयर होल्डर पनि भएकाले त्यसको जिम्मेवारी लिनुपर्छ त्यो प्रतिवेदनले भनेको छ ।’
आफूले सर्वसाधारण बचतकर्ताको पैसा नठगेको भन्दै लामिछानेले संसदीय विशेष छानबिन समितिको प्रतिवेदनको पानापाना पल्ट्याएर जुन न्यायाधीशसँग र जुन वकिलसँग जुन ठाउँमा बहस गर्नुपरे पनि आफू तयार रहेको बताए ।
लामिछानेले आफूविरुद्ध हो दुई वर्ष लगाएर जुटाउन नसकेको प्रमाण अझै खोज्न चुनौती दिए । उनले अनुसन्धान भए आफू सघाउन तयार रहेको पनि स्पष्ट गरे ।