काठमाण्डु, १८ असोज– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपदमा काम नगरेको भनेर सरकारलाई जिरो नम्बर दिन नहुने बताएका छन ।
आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गत रहेको विकास तथा पूर्वाधार समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री दाहालले यस्तो बताएका हुन ।
उनले विपद पछाडि सरकारले काम गरिरहेको समेत बताएका छन । उनले सरकारले पहिलो प्राथमिकता उद्धारलाई दिएको बताउँदै राजमार्गमा अलपत्र परेका वृद्धवृद्धाहरूको उद्धार गरिसकेको पनि बताएका छन ।
बीपी राजमार्गमा अलपत्र परेका झन्डै ५ सयवटा सवारी साधन र ती सवारी साधन कुरेर बसेका सवारी चालक र सहचालक को उद्धार गर्न बाँकी रहेकाले खोलाबाट डाइभर्सन गरेर भएपनि गाडीहरु काठमाण्डु ल्याउन लागि परेको पनि उनले बताएका छन । उनले सांसदहरूले सरकारले विपद पछाडि कुनै काम नगरेको, विपद अगाडि पूर्व तयारी नगरेको आरोप लगाएपछि पनि बताएका छन ।
उनले भने, ‘यो सरकारले काम गरिरहेको छ, काम नै गरेन भनर सरकारलाई जिरो नम्बर दिन हुँदैन । कमी कमजोरी नै हुँदैन भन्ने हुँदैन, हामीले काम गरेका छौँ ।’ उनले प्रधानमन्त्री एक घण्टा अगाडि छिटो आएको भए अर्कै हुन्थ्यो भन्ने तरिकाले आलोचना गर्न नहुने बताएका छन । वीपी राजमार्गको फोक्सिनटारमा दुवैतर्फ २०–२० मिटर पुल कटान भएको र त्यहाँ बेली ब्रिज राख्न अप्ठ्यारो भएको बताएका छन ।
अहिले चाइनाबाट बेली ब्रिज ल्याउनुपर्ने र खरिद प्रक्रियाबाट ल्याउँदा अप्ठ्यारो रहेको बताउँदै द्रुत गतिमा कसरी ल्याउन सकिन्छ त्यसबारे पहल गर्ने बताएका छन । वीपी राजमार्गमा दसैँ अगाडि गाडी गुडाउने अवस्था नरहेको वैकल्पिक बाटोको अवस्था पनि बाटो बनाउने अवस्था पनि नरहेको उल्लेख गरे ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले पूर्व तयारी नगरेको प्रधानमन्त्री विपदको बेलामा अमेरिकामा उद्घाटन गर्न बसेको, अघिल्लो सरकारले विपदमा द्रुत गतिमा उद्धारको काम गरेको बताएपछि सिन्धुपाल्चोकको जुरेको पहिरो नजिक ठूला–ठूला क्रसर आफूले पनि देखेको तर त्यो अघिल्लो सरकारले किन नहटाएको भन्दै प्रश्न गरे ।
वीपी हाइवेमा १२ किलोमिटर सडक बगाएको सडक सबै ठाउँमा दुई लेनको पुल बनाउन सकिन्छ कि भनेर पनि कुरा गरेको तर त्यो अहिले सम्भव नभएको बताए । अर्को विकल्प खोलाको तलबाट वाल उठाएर बाटो बनाउन पनि समय लाग्ने र दसैँ अगाडि बाटो सुचारु गर्न सकिने अवस्था नभएको बताएका छन ।