दसैँको मुखमा रोकियो पेन्सन

काठमाण्डु टुडे २०८१ असोज १८ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, १८ असोज– दसैँको मुखमै राष्ट्रिय परिचयपत्र नभएको भन्दै सयौँ व्यक्तिहरूको पेन्सन रोकीएको छ । यसका कारण पेन्सन लिएर दसैँ मनाउने योजनामा रहेका हजारौँ ‘पेन्सन होल्डर’हरूको बिचल्लीमा परेका छन ।

निजामती तथा राष्ट्रसेवक कर्मचारीको पेन्सनको व्यवस्थापन गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परिचयपत्र नभएकालाई धमाधम फिर्ता पठाइरहेको गुनासो सेवाग्राहीहरुको छ ।

बैंकको बत्तीसपुतली शाखामा पेन्सन लिन पुगेकी माया गौतमले राष्ट्रिय परिचयपत्र नभएको भन्दै फर्काइएको गुनासो गरेकी छन । तीन महिनाको पेन्सन दिएर दसैँ खर्च धान्ने सोच बनाएकी उनले यही कारण समस्यामा परेको बताएकी छन ।

मन्त्रिपरिषद् बैठकले गत असार १५ मा निर्णय गरेर साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र लागु गर्ने व्यवस्था गरेको थियो । जस अनुसार २८ जिल्ला साउनदेखि नै राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।

तर, वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर जनतालाई दुःख दिएको भन्दै विरोध भएपछि सरकारले तत्काल यसलाई अनिवार्य गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले उक्त निर्णय गरे पनि मातहतका निकायलाई परिपत्र भने गरेन ।

यसले गर्दा राष्ट्रिय परिचयपत्र नभई सम्बन्धित निकायले भत्ता दिएन । यसउपर परेको रिटमा सर्वोच्च अदालतले तत्काल यो व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएपछि समस्या समाधान भएको जस्तो देखिएको थियो । तर, दसैँको मुखमा पेन्सनको हकमा यो समस्या फेरि बल्झिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us