काठमाण्डु, १८ असोज– विराटनगरमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा प्रहार भएको छ ।
हिजो बिहिबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयले आज भन्सार कार्यालयमा ढुंगामुढा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको पनि प्रहरीले जनाएको छ । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना-४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो।
ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन् । ट्रक चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन् ।
शुक्रबार बिहान आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन ।