काठमाण्डु, १८ असोज– मालबाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि विराटनगर – १८ आइसीपी रोडमा तनावको अवस्था सिर्जना भएको छ । सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले सडकमा आन्दोलन गरेका छन । उनीहरुले सवारी साधन आवतजावतमा अवरोध समेत गरेका छन ।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेका छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरीका डीएसपी बेद जोशीले जानकारी दिएका छन ।
आन्दोलनको भिड आइसिपी क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको उनले जानकारी दिएका छन । बिहीबार बेलुका ६ः ४५ बजे आइसीपी जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साइकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो ।
घाइते उनलाई उपचारको लागि बिराट नर्सिङ होम पठाइए पनि चिकित्सकले चेक जाँच गर्ने क्रममा बेलुका साढे सातमा उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दिपक यादवलाई नियन्त्रणमा लिएको छ ।
ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।