बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने

काठमाण्डु टुडे २०८१ असोज १८ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, १८ असोज– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीन दिनभित्र बीपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ । आज शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले यस्तो जानकारी दिएका हुन ।

गत असोज ११ र १२ गतेको भीषण वर्षाबाट बाढी पहिरोले क्षतिग्रस्त बनाएका राजमार्गहरू सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिएका छन । बीपी राजमार्ग सञ्चालन गर्न भने समय लाग्ने उनले जानकारी दिएका छन ।

सो राजमार्गको १२ किलोमिटर सडक बगेकाले अस्थायी सडक बनाएर सञ्चालन गर्न पनि कठिनाइ रहेको सांसदहरुलाई जानकारी गराएका छन । सचिव शर्माले बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८०५ स्थानमा पहिरो गएको र ७७४ स्थानको पहिरो हटाइएको जानकारी दिएका छन ।

अझै पाँचवटा राजमार्गका २१ स्थानमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास गरिरहेको उल्लेख गरे। उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धार कार्य उद्धार प्रयास भइरहेको पनि जानकारी दिए ।

बीपी राजमार्गबाट सुनकोशी पारी लगेर मध्य पहाडी राजमार्ग हुँदै काठमाण्डु ल्याउन सकिन्छ कि भनेर मन्त्रालयले प्रयास गरिरहेको उल्लेख गरे । उनले भोलिदेखि कान्तिराजपथ सञ्चालनमा आउन सक्ने जानकारी दिएका छन ।

कान्ति राजपथ अन्तर्गत छपेलीदेखि बगुवासम्म बाटो खुला रहेको र बागमती नदीको १५ मिटरको भाग कटान भएकोले नेपाली सेना र सडक विभागका कर्मचारीले सडक मर्मतको काम गरिरहेको जानकारी दिएका छन ।

यस्तै अरनिको राजमार्ग पनि तीन दिनभित्र सञ्चालनमा ल्याउनको लागि मन्त्रालय लागिपरेको बताए। लिपिङ खोलासम्म बाटो खुला रहेको लिपिङको पुल भत्केकोले डाइभर्सन गर्न समस्या रहेको र बेली ब्रिज बनाएर सीमासम्म ३ दिनभित्र बाटो खुला गर्नका लागि मन्त्रालय लागि परेको संसदीय समितिमा जानकारी गराए ।

फूलपातीपछि मजदुर तथा डोजर चालकले काम गर्न नमान्ने हुँदा छिटो काम गराउन समस्या रहेको र त्यस अगाडि जति काम गर्न सकिन्छ मन्त्रालय लागि परेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us