
काठमाण्डु, १८ असोज– गत साताको भारी वर्षा र बाढीपहिरोका कारण मकवानपुरको जिल्लाको जनजीवन नराम्ररी प्रभावित भयो ।
इन्द्रसरोबार गाउँपालिकाको एन्फा प्रशिक्षण केन्द्रमा फुटबल प्रक्षिण लिइरहेका ६ बालकको गत शनिबार पहिरोमा परी ज्यान गयो । स्थानीय बत्सलादेवी माविमा फुटबल सिकिरहेका मृतक ६ मध्ये तीन जना मकवानपुरकै थिए ।
हेटौंडाका अनुपम घलान र साइमन योञ्जन तथा सिस्नेरीका दिवस बानियाँले पहिरोमा ज्यान गुमाए । उनीहरुसँगै प्रक्षिणमा रहेका बारा निजगढका विकल रेग्मी, काठमाण्डुमा रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पनि पहिरोले ज्यान लियो ।
पहिरोका कारण हेटौंडाबाट काठमाण्डु जोड्नै सबै सडक अवरुद्ध छन् । राजधानी प्रवेश गर्ने छोटो दूरीका त्रिभुवन राजपथ र कान्तिलोकपथका जर्दनौं स्थानमा साना ठूला पहिरो गएका छन् । भीमफेदी—कुलेखानी—फाखेल, कुलेखानी—सिस्नेरी—दक्षिणकाली सडक धेरै ठाउँमा पहिरोले खण्डहरमा परिणत भएको छ ।
शनिबारदेखि अवरुद्ध सडक अझै खुलेको छैन । प्रदेश राजधानीसमेत रहेको हेटौंडालाई जोडेने दर्जनौं सडक बाढीपहिरोले बगाउँदै गाउँ र सहरको सडक सञ्जाल विच्छेद भएको छ ।
दसैंको मुखमा सर्वसाधारण किनमेलका लागि बजार आउन नसक्ने अवस्था छ ।
यस्तो अवस्थामा मकवानपुर–२ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य महेश एमाले संसदीय दलका एमाले प्रमुख सचेतक बर्तौला विदेश भ्रमणमा रमाएको भन्दै सर्वसाधारणले व्यापक असन्तुष्टि पोखेका छन् ।
बर्तौलाको निर्वाचन क्षेत्रमा पर्ने राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ (अनुराग बनस्तम) ले भारी वर्षासँगै मुलुक बाढीपहिरोको चपेटामा परी शोकभोकमा डुबिरहेका आफ्नै क्षेत्रका जनतालाई छोडेर भ्रमणमा रमाएको भन्दै बर्तौलाको विरोध गरेका छन् ।
‘मकवानपुर लगायत देशका विभिन्न भू–भागमा बाढी, पहिरोले ठूलो धनजनको क्षति गर्यो । सिस्नेरीमा व्यवस्थापकीय लापरबाहीले अवोध बालकहरुले अनाहकमा ज्यान समेत गुमाउनुपर्यो । सिस्नेरी बजार क्षणभरमा स्वाहा भयो । उद्धार र राहतको अभिभारा छोडेर यसै क्षेत्रका माननीय महेश बर्तौला लण्डन भ्रमणमा ब्यस्त हुनुहुन्छ’, थिङले फेसबुकमा लेखेका छन्, ‘बिहीबारदेखि भारी वर्षासँगै मुलुक बाढीपहिरोको चपेटामा परी शोकभोकमा डुबिरहेका आफ्नै क्षेत्रका जनतालाई छोडेर भ्रमणमा रमाइरहनु भएका सांसद महेश बर्तौलाबाट हामीले के आशा राख्ने होला ? । मुस्कान फिँजाएर अब जनतालाई नझुक्याईयोस माननीय ज्यू, जनताले अब कर्म पहिचान गर्नेछ ।’
मकवनपुरकै श्रीराम रिजालले देश शोकमा डुबेको बेला सांसद बर्तौला विदेश भ्रमणमा गएको भन्दै आपत्ति जनाएका छन् ।
०७९ मंसिरमा सम्पन्न निर्वाचनमा बर्तौलाले आफ्ना राजनीतिक गुरु एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई ४ हजार ५ सय २० मतले हराएका थिए ।
बर्तौला हाल बेलायतको लण्डनमा छन् । १४ र १५ असोजमा इन्टरनेशनल ग्रोथ सेन्टरको संयोजनमा लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा नीति सम्मेलनमा सहभागी हुन बर्तौला त्यहाँ पुगेका हुन् । तर, कार्यक्रम सकिएको तीन चार दिन बिते पनि उनी स्वदेश फर्किएका छैनन् ।
बर्तौलासँगै एमाले सांसद योगेशकुमार भट्टराई, काँग्रेस नेतृ महालक्ष्मी उपाध्याय –डिना, काँग्रेसका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेल, काँग्रेस युवा नेता डा. जितेन्द्र उपाध्याय, जसपा केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख अर्जुन थापा, र सोही पार्टीका अर्का केन्द्रीय सदस्य तथा उपराष्ट्रपति रामसहायप्रसाद यादवका विदेश मामिला सल्लाहकार विनोदकुमार पौडेल बेलायत भ्रमणमा छन् ।
चीन भ्रमणमा रहेका पूर्वमन्त्रीसमेत रहेका भट्टराई उतैबाट अष्ट्रेलिया हुँदै बेलायत आएका हुन् भने बाँकी सबै नेपालबाटै गएका थिए । भ्रमण टोलीमा रहेकी माओवादी सांसद रेखा शर्मा बुबाको निधन भएका कारण गइनन् ।
माओवादीकै अर्का सांसद माधव सापकोटाले बाढीपहिरोका कारण जनधनको क्षति भएका बेला विदेश जानु उपयुक्त नहुने भन्दै भ्रमण रद्ध गरेका थिए ।