यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान

काठमाण्डु टुडे २०८१ असोज १८ गते ९:१८ मा प्रकाशित

काठमाण्डु, १८ असोज– हवाई सेवा प्रदायक कम्पनीले विमानस्थलमा हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि उडान सङ्ख्या थपेका छन् । कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका छन ।

हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको उनले जानकारी दिएका छन ।

यस्तै श्री एयरलाइन्सले पनि शुक्रबारदेखि काठमाण्डु–भरतपुर–काठमाण्डु रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिएका छन । कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने उनले जानकारी दिएका छन । यती एयरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौँ–भद्रपुर–काठमाडौँ र काठमाण्डु–नेपालगञ्ज–काठमाण्डुमा एक–एक उडान थपेको छ ।

साथै असोज १८ गतेदेखि काठमाण्डु–जनकपुर–काठमाण्डु गन्तव्यमा एक उडान थपिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन । हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ ।

उडान चाप बढेपछि एयरलाइन्सले उडान थपेर यात्रुलाई गन्तव्य पुर्‍याइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए । जसमा उक्त दिन १७ हजार चार जना यात्रुले उडान गरेका थिए ।

साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । जसमा १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कुल ५९९, मंगलबार ५११ र बुधबार ४७३ वटा उडान भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us