जसले विष खुवाएर दुई नाबालक छोरीको हत्या गरिन्…

काठमाण्डु टुडे २०८१ असोज १७ गते २०:०० मा प्रकाशित

विराटनगर, १७ असोज– मोरङ जिल्ला अदालतले दुई नाबालक छोरीको हत्या आरोप लागेकी एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश पारसमणि पोखरेलको इजलासले सुन्दरहरैँचा नगरपालिक–७ की २१ वर्षीया अस्मिता पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अस्मितालाई थुनामा पठाउन आदेश भएको जानकारी दिए ।

पौडेलमाथि विष खुवाएर नाबालक छोरीहरुको हत्या गरेको आरोप छ । श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि अस्मिता १४ भदौमा छोरीहरु ३ वर्षीया अर्पणा कार्की र १ वर्षीया आइङ्कालाई लिएर घरबाट हिंडेकी थिइन् ।

१७ भदौमा दुवै छोरी स्थानीय नारायण न्यौपानेको केराबारीमा मृत भेटिएका थिए ।

पोष्टमाटर्म रिपोर्टमा दुवैको मृत्यु विष सेवनबाट भएको खुलेको थियो । प्रहरीले उनलाई १९ भदौमा झापाको विर्तामोडबाट पक्राउ गरेको थियो ।

बयानका क्रमा अस्मिताले श्रीमानको टर्चर सहन नसकेपछि विष खुवाएर छोरीहरुको हत्या गरेको स्वीकार गरेकी छन् ।

अहिले भने आफूलाई उक्त कार्यप्रति ग्लानी भएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us