सिन्धुली १७ असोज– मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मीखण्ड बिहीबारदेखि एकतर्फी रुपमा खुलेको छ ।
केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौं स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो ।
डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनपछि बिहीबार दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।
मध्यपहाडी सडक आयोजना तस्था गोलञ्जोर र फिक्कल गाउँपालिकाको समन्वयमा एकतर्फी रुपमा सडक सञ्चालनमा आएको हो ।
राजमार्ग सञ्चालनमा आए पनि पहिरोको जोखिम कायर्म रहेकाले सकभर रात्रिकालीन यात्रा नगर्न र गर्नैपर्न भए सतर्कता अपनाउन आग्रह गरिएको न्यौपानेले बताए ।
६१ किलोमिटर उक्त सडक खण्डका सयौं स्थानमा स–साना पहिरो झरेका छन् । साना तथा मझौला सवारीसाधन सञ्चालनमा समस्या नभए पनि ठूला सवारी साधन चलाउन भने कठिन रहेको उनको भनाइ छ ।
राजमार्गमा पहिरो खसेसँगै ओखलढुङ्गा, उदयपुर, सिन्धुली, सोलुखुम्बु र खोटाङलगायत जिल्लाका मानिसहरुको आजतजावत प्रभावित भएको थियो ।