
अछाम, १७ असोज– अछाममा उपचार नपाएर सुत्केरी महिलाको मृत्यु भएको छ ।
ढकारी गाउँपालिका–६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रापका कारण मृत्यु भएको हो । जैशीलाई गएराति १२ बजेतिर सुत्केरी व्यथा लागेपछि परिवारले ढुङ्गाचाल्नास्थित स्वास्थ्य चौकी लगेका थिए ।
तर, स्वास्थ्यचौकी नपुग्दै बीच बाटोमै शिशु जन्मियो । बच्चा जन्माएपछि उच्च रक्तश्रावको समस्याका कारण स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान सुझाए ।
मंगलसेनामा पनि राम्रो उपचार नपाएपछि लगातार ७ घण्टासम्म रक्तश्राब नरोकिएका कारण उनको मृत्यु भएको हो ।
अछाम प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले घटनामा अस्पतालको लापरबाही देखिए कारबाही हुने बताएका छन् ।
तर, जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिराज आचार्यले ढिला गरी ल्याइएकाले उच्च रक्तश्राबका कारण महिलाको बाटैमा मृत्यु भएको दाबी गरे ।