नेपाल–भारत र बंगलादेशबीच ऐतिहासिक समझदारी

काठमाण्डु टुडे २०८१ असोज १७ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, १७ असोज– नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच बिहीबार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भयो ।

काठमाण्डुमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) मा हस्ताक्षर भएको हो ।

 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मोहमद रेजुल करिम र एनभीभएनकी प्रमुख कार्यकारी अधिकृत रेनु नारंगले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

। नेपाल र बंगलादेशबीच गत वर्षको साउनमा ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता हुने तय थियो । तर बंगलादेशमा राजनीतिक उथलपुथल भएपछि सम्झौतामा हस्ताक्षर हुन ढिलाई भएको हो ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने सम्बन्धी पुरानो सम्झौता अघि बढाउने बताएपछि प्रक्रिया अघि बढेको हो ।

प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्नेछ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् बंगलादेश निर्यात गरिने छ ।

कार्यक्रममा बोल्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालबाट बंगलादेशमा हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत निर्यात गर्ने बताए ।

घिसिङले सम्झौतालाई ऐतिहासिकको संज्ञा दिए । बिजुली बिक्रीबाट नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर आम्दानी गर्ने उनको भनाइ थियो । ‘यो हाम्रो साझा भिजनको परिणति हो । यसले सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने छ,’ उनले भने ।

बंगलादेश विद्युत बिक्री गरी प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ ।

नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुद्धीन नोमन चौधरीले बंगलादेशले ऊर्जा क्षेत्रमा सामना गरिहरेको चुनौतीसँग लड्न सम्झौता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालले भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा विद्युत व्यापार सुरू गर्नु दक्षिण एसियाकै लागि कोशेढुंगा सावित भएको बताए ।

मुजफ्फरपुरबाट भारतीय प्रसारण लाइनमार्फत भारतको बेहरामपुर र बंगलादेशको भेडामारा ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us