दशैं घरमा जमरा राखियो

काठमाण्डु टुडे २०८१ असोज १७ गते १०:४० मा प्रकाशित

काठमाण्डु, १७ असोज– काठमाण्डुको हनुमानढोका दरबारस्थित दशैं घरमा जमरा राखिएको छ ।

बिहीबार बिहान ९ बजेर १६ मिनेको शुभसाइतमा विधिपूर्वक दशैं घरमा जमरा राखिएको हो । त्यस क्रममा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै हर्ष बढाईं गरेको थियो ।

दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

दसैँघरमा राखिएसँगै आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।

दशैंको पहिलो दिन नदीबाट बालुवा वा शुद्ध माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा र दशैं घरमा जौ, गहुँ र मकैको जमरा राख्ने गरिन्छ ।

देवीको प्रसाद र समृद्धिको प्रतीकका रुपमा बडादशैंका दिन टीकासँगै मान्यजनका हातबाट जमरा लगाउने चलन छ ।

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us