सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०८१ असोज १६ गते २२:४२ मा प्रकाशित

काठमाण्डू, १६ असोज- सर्वोच्च अदालतले सहकारी ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सन्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीलाई जमानतमा तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार जोशीलाई जमानतमा छाड्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिएको हो ।

जोशीले ०७७ असार ३ गते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट १० लाख रुपैयां लिएको र सोही दिन गोर्खा मिडियाका अध्यक्ष जितेन्द्रबाबु (जिबी) राईको नाममा चेकमार्फत १० लाख नै फिर्ता गरेको देखिएको आदेशमा उल्लेख छ ।

जोशीले २६ असोज २०७८ मै गोर्खा मिडिया नेटवर्क प्रा.लि.बाट अलग भएको अदालतले जनाएको छ ।

बडादसैंको लामो बिदा प्रारम्भ हुन लागेको तथा अभियोग सम्बन्धमा हालसम्म भएको अनुसन्धानको अवस्था विचार गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ (१) मा अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिबाट धरौट वा जमानत लिई तारेखमा राख्न सक्ने व्यवस्था रहेको सन्दर्भमा यो व्यवस्थाको प्रयोगतर्फ ध्यानाकर्षणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखी पठाउन अदालत प्रशासनलाई आदेश दिइएको छ ।

प्रहरीलो जोशीलाई सहकारी ऐनअन्तर्गत ठगी मुद्धाको अनुसन्धानका सिलसिलामा गत ६ असोजमा

कास्की जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी लिएर काठमाण्डुको शंखमुलबाट  नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पहिलोपटक ५ दिन र दोस्रोपटक ७ दिनको म्याद थप गरी जोशीमाथि छानबिन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us