बाढीपहिरोको संकट समाधानका लागि प्रचण्डद्वारा युरोपेली संघलाई अपिल

काठमाण्डु टुडे २०८१ असोज १६ गते २२:१३ मा प्रकाशित

काठमाण्डु, १६ असोज-  पूर्वप्रधानमन्त्री एवं  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले बुधबार शिष्टाचार भेट गरेकी छन् ।
आफ्नो निवास खुमलटारमा भएको भेटमा प्रचण्डले हालैको बाढीपहिरोका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले संकट समाधानमा साथ दिन युरोपियन युनियनलाई आग्रह गरे ।

बाढीपहिरोको पीडा नेपाली जनताले व्यहोर्नुपरे पनि यो विश्वब्यापी समस्याकै अंग भएकाले जलवायु परिवर्तनका कारण भइरहेका यस्ता विपदप्रति विश्वको ध्यान जानुपर्ने उनले बताए ।

राजदूत लोरेञ्जोले बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै युरोपियन युनियनको साथ रहने बताइन् ।

उनले नेपालको शान्ति प्रक्रिया अघि बढेकामा खुशी व्यक्त गर्दै त्यसको सफल नेतृत्व गरेकोमा ईयूका तर्फबाट प्रचण्डलाई बधाई दिइन् ।

भेटका अवसरमा नेपाल र ईयूबीच सम्बन्ध सुधारका विषयमा बहुआयामिक छलफल भएको प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us