अख्तिायारका पदाधिकारी र कर्मचारीद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग घोषणा

काठमाण्डु टुडे २०८१ असोज १६ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, १६ असोज– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त र कर्मचारीले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन् ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेले बुधबार विज्ञप्ति जारी गर्दै बाढीपहिरो पीडितहरूलाई केही दिनको पारिश्रमिकबाट आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार प्रमुख आयुक्त र आयुक्तहरुले एक साताको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नेछन् ।

अख्तियारमा प्रमुख आयुक्तसहित ५ जना आयुक्त छन् । यस्तै सचिवले ५ दिन, सहसचिव र उपउपसचिवले ३ दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीले २ दिन र त्यसभन्दा तलकाले एक दिनको तलब बराबरको रकम राहतका लागि दिने बताइएको छ ।

गत बिहीबारदेखि शनिबारसम्म भारी वर्षा र त्यसपछि आएको बाढीपहिरोमा परी २ सय २८ जनाले ज्यान गुमाएको पछिल्लो तथ्यांक गृह मन्त्रालयले सार्वजनिक गरेको छ । २५ जना बेपत्ता छन् ।

भौतिक पूर्वाधार, कृषि, जलविद्युत, खानेपानीका संरचनालगायतमा बाढीले १७ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us