काठमाण्डु, १६ असोज– पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राजधानीमा जारी २३औं महाधिवेशनले नेतृत्व चउन गर्न
नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । प्रचण्डले पार्टीका पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुलाई खुमलटार बोलाएर छलफल गरेका हुन् ।
उमेर हद लगाउने विषयमा मतदान गर्ने कि नगर्ने भन्ने विवादका कारण माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको जारी सम्मेलनले नेतृत्व चयन गर्न सकेको छैन ।
१० असोजमा सुरु अधिवेशन पूर्वनिर्धारित तालिकाअनुसार मंगलबार सकिनुपर्ने थियो । हालका अधिकांश उपाध्यक्षसहित १९ जना पदाधिकारी अध्यक्षका आकांक्षी भएपछि त्यसको हल खोज्न माओवादी पदाधिकारी बैठकले उमेर हद लगाउने निर्णय गरेको थियो ।
उमेर हद लगाउने कि नलगाउने भन्नेमा तीव्र विवाद भएपछि त्यसको छिनोफानो पनि निर्वाचनबाटै गर्ने भनियो । तर, विवादका कारण आधा दर्जन जिल्लाबाट प्रतिनिधि छनोट नै नभएको भन्दै सोमबार अध्यक्षका आकांक्षीमध्ये केहीले सम्मेलनको बन्दसत्र स्थल कीर्तिपुरमा तोडफोड र नाराबाजी गरेपछि रोकिएको बन्दसत्र अझै सुरु भएको छैन ।
यस्तै प्रचण्डले बुधबार बिहान क्रान्तिकारीका पूर्वअध्यक्षहरु हिमाल शर्मा, रमेश मल्ल, नरेन्द्र न्यौपाने र रञ्जित तामाङ लगायतसँग परामर्श गरेका थिए । बैठकमा सहभागी भएक नेताले सम्मेलन हलको म्याण्डेटअनुसार उमेर हद लगाउने कि नलगाउने भन्ने विषयको टुंगो लगाएर निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने सुझाव दिइएको बताए ।
विवादका कारण आज बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया रोकिएको छ । यसअघि गएराति अबेरम्म उपमहासचिव शक्ति बस्नेतको उपस्थितिमा प्रतिनिधि विवाद समाधानका लागि बसेको बैठक बिना निस्कर्ष सकिएको थियो ।