काठमाण्डु, १६ असोज– उमेर हद लगाउने विषयमा मतदान गर्ने कि नगर्ने भन्ने विवादका कारण माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाण्डुमा जारी २३औं राष्ट्रिय सम्मेलनले नतृत्व चयन गर्न सकेको छैन ।
१० असोजमा सुरु अधिवेशन पूर्वनिर्धारित तालिकाअनुसार मंगलबार सकिनुपर्ने थियो ।
हालका अधिकांश उपाध्यक्षसहित १९ जना पदाधिकारी अध्यक्षका आकांक्षी भएपछि त्यसको हल खोज्न माओवादी पदाधिकारी बैठकले उमेर हद लगाउने निर्णय गरेको थियो ।
उमेर हद लगाउने कि नलगाउने भन्नेमा तीव्र विवाद भएपछि त्यसको छिनोफानो पनि निर्वाचनबाटै गर्ने भनियो । तर, विवादका कारण आधा दर्जन जिल्लाबाट प्रतिनिधि छनोट नै नभएको भन्दै सोमबार अध्यक्षका आकांक्षीमध्ये केहीले सम्मेलनको बन्दसत्र स्थल कीर्तिपुरमा तोडफोड र नाराबाजी गरेपछि रोकिएको बन्दसत्र अझै सुरु भएको छैन ।
अधिकांश उपाध्यक्ष आफूहरुलाई नियतबस पाखा लगाउन खोजिएको भन्दै पार्टी निर्णयको खिलाफमा छन् । नेतृत्वमा आए पनि हुने भन्दै उनीहरु सबै प्रतिनिधिले केन्द्रीय सदस्यदेखि अध्यक्षसम्म उम्मेदवार हुन पाउनुपर्नेमा एकमत छन् ।
उपाध्यक्ष जिपी मैनालीले उमेदवर बन्न रोक्ने उद्देश्यले उध्येश्यले बनाइएका ‘मण्डले विधि’ र प्रावधान अबिलम्ब खारेजीको माग गरे । ‘हरेकले चुन्न र चुनिन पाउने व्यवस्था निसर्त लागू गर्न र निर्वाचनबाट सबै कुराको हल खोज्न माग गर्दछु’, उनले भने ।
यो त्यो प्रावधान राखेर प्रतिनिधिलाई उम्मेदवार हुन रोक्ने प्रपञ्च आफूहरुलाई स्वीकार्य नभएको उनले बताए ।
‘हलका प्रत्येक प्रतिनिधिले सदष्यदेखि केन्द्रिय अध्यक्षसम्म निःसर्त चुनाव लड्न र साथीहरुबीचबाट चुनिन पाउने अधिकारको सुनिश्चिताका निम्ति संघर्ष गर्न सबै कमरेडहरुलाई अपिल गर्छु’, उनले भने, ‘सार्वभौम हलले जसलाई निर्वाचित गर्छ ,त्यो मान्न तयार छौं ।’
यद्यपि आफूहरुको भनाइ नयाँ पुस्तालाई रोक्ने नभएको मैनालीले बताए ।
नयाँ र पुरानाबीचको प्रतिस्पर्धामा नयाँ चुनिए सहर्ष स्वीकार गर्न तयार रहेको मैनालीले उल्लेख गरे ।