हेटौंडा, १६ असोज- मकवानपुरको बाढी प्रभावित क्षेत्र इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीबाट दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको बुधबार बिहान उद्धार गरिएको हो ।
इन्द्रसरोवर-३ दाप्राङकी सुकिमाया वाइबा र इन्द्रसरोवर-३ सानुटारकी सुशीला घिसिङलाई उद्धार गरी पाटन अस्पताल पठाइएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।
उनीहरु प्रसुतिका लागि ५ दिनअघि सिस्नेरी स्वास्थ्य चौकी पुगेका थिए ।
भारी वर्षासंगै कुलेखानी जलविद्युत् केन्द्रको जलासय भरिएपछि शनिबार बिहान ढोका खोलिएको थियो ।
त्यसपछि कुलेखानी खोलामा आएको बाढी तथा आसपास क्षेत्रमा गएको पहिरोले बगाएसंगै यातायात अवरुद्ध भएको छ ।
सिस्नेरीस्थित एन्फा एकेडेमीमा पुटबल प्रशिक्षणमा रहेका १३ वर्ष मुनिका ६ किशोरको पहिरोमा पुरिएर ज्यान गएको थियो ।