काठमाण्डु, १५ असोज– प्रधानमन्त्री केपी ओलीले बाढीपहिरोका कारण ठूलो जनधनको क्षति पुगेपछि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउन खोजेका कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई रोकेको खुलासा भएको छ ।
सिंहले उद्धार, राहत तथा पुनस्र्थापना प्याकेजका लागि शनिबार मन्त्रिपरिषद बैठक बोलाउन खोजेका थिए । तर, ओलीले आफू अमेरिकाबाट फर्किएपछि बस्ने भन्दै मन्त्रिपरिषद बैठक रोके ।
कार्यबाहक प्रधानमन्त्री सिंहले सभापति शेरबहादुर देउवासहित नेताहरुलाई ओलीले बैठक राख्न नदिएको ब्रिफिङ गरेका छन् ।
काँग्रेस पदाधिकारी बैठकमा संकटका बेला सरकारको भूमिका प्रभावकारी नभएको भन्दै सिंह र गृहमन्त्री रमेश लेखकको आलोचना भएको थियो । ‘कार्यबाहक प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक राख्न खोज्दा प्रधामन्त्री केपी ओलीले अमेरिकाबाट फर्केर आएपछि निर्णय गर्ने भनेर रोक्नुभएछ’, एक काँग्रेस नेताले भने, ‘यसलाई हामीले गम्भीर रुपमा लिएका छौं ।
कार्यबाहक प्रधानमन्त्रीले सामान्य अवस्थामा मन्त्रिपरिषद बैठक बोलाउने प्रचलन छैन । तर, देशमा गम्भीर संकट वा काबुबाहिरको परिस्थिति आएको खण्डमा बैठक बोलाएर आवश्यक निर्णय गर्ने चलन छ । काँग्रेस नेताहरुले सबै आफूले गरेको देखाउन ओलीले सिंहलाई मन्त्रिपरिषद बैठक बोलाउन नदिएको बताएका छन् ।
ओली १४ असोजमा अमेरिकाबाट स्वदेश फर्किएको केही घण्टामै उनले बालुवाटारमा मन्त्रिपरिषद बैठक डाके ।
उक्त बैठकले तीन दिन राष्ट्रिय शोक घोषणा गर्ने, मृतकका परिवारलाई दुई लाख र घरबारविहीन भएकालाई २५ हजार राहत दिने, घाइतेको निःशुल्क उपचार गर्ने र अवरुद्ध राजमार्गहरु यथाशक्य छिटो खुलाउने निर्णय गरेको थियो । ‘यति निर्णय गर्न प्रधानमन्त्री कुर्नै पर्ने थिएन’, ती काँग्रेस नेताले भने, ‘ओलीजीलाई अरुको अग्रसरतामा निर्णय लिँदा आफूले जस पाइँदैन भन्ने लाग्यो होला ।’
ओलीले १० असोजमै संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । मौसमविदले बिहीबारदेखि शनिबारसम्म भारी वर्षा र बाढीपहिरो आउने पूर्वसूचना ओली नेपालमै हुँदा गरिसकेका थिए ।
मुख्य कार्यक्रम सकिएपछि अधिकांश देशका सरकार प्रमुख स्वदेश फर्किए । तर ओली भने देशमा बाढीपहिरोले जनता मरिरहेका बेला पार्टी कार्यकर्ता भेटघाट र उनीहरुले आयोजना गरेका अनौपचारिक कार्यक्रममा व्यस्त भए ।
कार्यक्रम सकिएपछि पनि अमेरिका घुमघाम गरेर बसेको भन्दै ओलीको सर्वत्र आलोचना भइरहेको छ ।