कोसी र बागमतीमा आजदेखि तीन दिन भारी वर्षा, सतर्क रहन आग्रह

काठमाण्डु टुडे २०८१ असोज १६ गते ८:१२ मा प्रकाशित

काठमाण्डु, १६ असोज– कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षापछि बाढीपहिरो आउन सक्ने भएकाले सतर्क रहने विभागले आग्रह गरेको छ ।

महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा कोसी र बागमतीका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
गेग्रान बहाब, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोसी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

यस्तै राति कोसी, मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । वर्षातको क्रम १८ गते शुक्रबारसम्म जारी रहने विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us