काठमाण्डु, १५ असोज– कांग्रेस महामन्त्री गगन थापाले नख्खुमा चार घण्टासम्म उद्धार पर्खंदा पर्खंदै खोलाले चार जनालाई बगाएको घटना र रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन नभएको विषयमा छानबिनको माग गरेका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मगलबार थापाले दुवै घटनालाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरे ।
रातिको समय बस चलाउने रोक्ने निर्णय गरिए पनि शनिबार राति धादिङको झ्याप्ले खोलामा पहिरोले चार सवारी साधन पुर्दा ३५ जनाको ज्यान गएको थियो । थापाले घटना अनुसन्धान गरी दोषीमाथि कारबाही गरिनुपर्ने बताए ।
‘एकातिर रात्रिबस सञ्चालन नगर्ने भनेर निर्णय भएको देखिन्छ भने अर्कोतिर रात्रिबस सञ्चालन भएको देखिन्छ। यसमा कसै न कसैले जिम्मा लिनुपर्छ, छलफल मात्र गरेर हुँदैन,’ थापाले भने, ‘नख्खुको विषयमा पनि त्यहाँ प्रहरीलगायत पुगेको भन्ने पनि छ, के भएको हो, यस विषयमा गृह मन्त्रालयले सत्य तथ्य छानबिन गर्नुपर्छ ।’
उनले कमजोरी राजनीतिक नेतृत्वले पनि कमजोरी स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
राजनीकि नेतृत्व, प्रहरी प्रमुख वा सिडिओमध्ये कसै न कसैले घटनाको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।
नख्खुमा टहराको छतमा बसेर उद्धारका लागि उद्धार गरिरहेका चार जनालाई शनिबार बिहान बाढीले बगाएको थियो ।
काभ्रे तेमालका चाणिकलाल तामाङले दुई जनाको उद्धार गरेका थिए भने एक जना आफैं पौडिएर बाँच्न सफल भए ।
चारमध्ये चार वर्षीया बालिकाको अवस्था अझै अज्ञात छ ।
थापाले बाढीपहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएका बेला मुख्यसचिव एकनारायण अर्याल गृहजिल्ला स्याङजामा सम्मान थाप्दै हिंडेको विषयमा पनि कुरा उठाए ।
उनले काम गर्नुपर्ने समयमा नदेखिएपछि उनीहरुको आलोचना हुनु स्वभाविक भएको बताए ।