सहकारीको २ अर्ब ठगी गरेका एमाले नेता जेल चलान

काठमाण्डु टुडे २०८१ असोज १५ गते २०:५२ मा प्रकाशित

बागलुङ, १५ असोज– बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् ।

सहकारी ठगी अभियोगमा उनलाई जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले मंगलबार पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

बागलुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले अदालतको आदेशअनुसार नेपालीलाई कारागार चलान गरेको हो । नेपालीका भाई ओमबहादुर दर्जीलाई भने १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

कास्की र बागलुङमा कार्यालय रहेको नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाबाट दुई अर्ब रुपैयाँ हिनामिना गरेका थिए । नेपालीले आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको पैसा फिर्ता गर्ने बताउँदै आएका छन् ।

एमाले नेता समेत रहेका नेपाली सहकारीमा रकम अपचलनविरुद्ध मुद्धा दर्ता भएपछि भागेर भारत गएका थिए । उनलाई गत साता भारतबाट पक्राउ गरी ल्याइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us